समाचार

नेपाल महत्वपूर्ण साझेदार मुलुक : अमेरिका

काठमाडौं  : अमेरिकाले नेपाललाई आफ्नो महत्वपूर्ण साझेदार मुलुक भनेको छ । दक्षिण तथा दक्षिण–पूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले यस क्षेत्रकै महत्वपूर्ण साझेदारका रूपमा नेपाललाई लिएको बताएका छन् । विश्व शान्तिका लागि नेपालले निर्वाह गरेको भूमिकाले झन् निकट रहेर सहकार्य गर्न उत्साहित गरेको उनको भनाइ छ ।

‘हामीलाई मित्र मुलुक नेपालको आवश्यकता छ । नेपाललाई पनि हामी आवश्यक छांै । कुन–कुन स्थानमा चाहिन्छ भन्ने स्पष्ट पारेर अघि बढ्नुपर्छ । हामी द्विपक्षीय ठूलो साझेदार हौं’, अमेरिकी राजदूत निवासमा उनले पत्रकारसामु भने, ‘सार्वभौम मुलुक निर्णयका लागि सधैं स्वतन्त्र रहन्छ । हाम्रो भ्रमण र सहकार्य पनि अघि बढेकै छ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणका बेला अमेरिकाले यो क्षेत्रमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको थियो । भेनेजुएला प्रकरणमा सत्तारुढ नेकपाले अमेरिकी कदमको आलोचना गरेपछि अमेरिका असन्तुष्ट देखिएको थियो । त्यसपछि फेल्टर नेपाल भ्रमणमा आएका हुन् । यसअघि एसिया–प्यासिफिक कमान्ड प्रमुख नेपाल आएका थिए । राजदूत र्‍यान्डी बेरीलाई साथमा राखी फेल्टरले नेपाल–अमेरिका सम्बन्ध पुरानो र मजबुत मात्र होइन, विश्व शान्तिका लागि सैन्य साझेदारमा अग्रसरसमेत रहेको स्पष्ट पारे ।

अमेरिकाले ‘अन्य’को आँखाबाट नेपाल हेर्छ भन्ने धारणा पुरानो भइसकेको उनले बताए । ‘छिमेक पनि जोडिने कतिपय विषयमा निर्णय लिँदा छिमेक वा छिमेकमा रहेको दूतावासको धारणा बुझ्ने कूटनीतिक अभ्यास हो’, उनले भने, ‘हरेक मुलुकले विशेष इस्यूमा यस्तो गर्छन् । यसलाई अन्य आँखा भन्न मिल्दैन ।’ नेपाललाई अमेरिकाले आफ्नै आँखाबाट हेर्ने उनले प्रस्ट पारे । नेपाललाई अमेरिकाले भारतको आँखाबाट हेर्ने गरेको भन्ने धारणामा उनले जवाफ दिएका हुन् । ‘म सुरक्षा निकाय हेर्ने व्यक्ति भए पनि कतिपय विषय कूटनीतिसँग जोडिएर आउँछन्’, उनले भने ।

नेपालको विकासमा अमेरिकाले सात दशकदेखि साझेदारी गर्दै आएको उनले उल्लेख गरे । उनले यो क्षेत्रमा सुरक्षा सहकार्यका हिसाबले पनि नेपाल साझेदार रहेको बताए । ‘शान्ति सेना प्रक्षिण केन्द्र होस् या नेपालको प्रस्तावित डिफेन्स युनिभर्सिटीमा पनि हामी सहयोग गर्न तयार छौं’, उनले भने, ‘द्विपक्षीय सैन्य अभ्यास÷प्रशिक्षण निरन्तर छ ।’ प्राकृतिक प्रकोप उद्धारमा पनि अमेरिकाले नेपाललाई सहयोग गरेको उनले उल्लेख गरे । नेपाली सेनाको व्यावसायिकता वृद्धिका लागि सहयोग जारी राख्ने प्रतिबद्धता उनले जनाए ।

उनका अनुसार नेपाललाई उपलब्ध गराउने भनिएको स्काई ट्रक जतिसक्दो छिटो पठाउने तयारी छ । पहिले दुई र त्यसपछि दुइटा ट्रक नेपाललाई उपलब्ध गराउन काम भइरहेको छ । अमेरिकाबाट एम १६ राइफल खरिद प्रक्रिया अघि बढेको उनले सुनाए ।

नेपालको दुवै छिमेकसँग सम्बन्ध राम्रो रहेको र रहनुपर्ने धारणा उनले व्यक्त गरे । भूगोल, अनुभव र अब्बलता सबै हिसाबले नेपाल यस क्षेत्रमा भूमिका खेल्न सक्ने मुलुकका रूपमा रहने विश्वास अमेरिकाको रहेको उनले सुनाए । ‘नेपालको विकासमा अमेरिकाको सहयोग सधैं रहनेछ’, उनले भने ।

इन्डो–प्यासिफिक रणनीति चीन घेर्न होइन

उनका अनुसार इन्डो–प्यासिफिक रणनीति चीन घेर्न नभई सहकार्यका लागि हो । यो सैन्य सहकार्य नभएको उनले बताए । ‘यसमा जाने÷नजाने नेपालको विषय हो । सार्वभौम मुलुकलाई त्यो अधिकार रहन्छ’, उनले भने, ‘कुन देशको समूह छान्ने र रहने भन्ने विकल्प हामीले भनेका होइनौं । इन्डो–प्यासिफिकमा सहभागी हुनु नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विविध बनाउनु र सार्वभौमिकता थप बलियो भएर जानु हो ।’

इन्डो–प्यासिफिकले नेपालको विकासमा सघाउ पुग्ने मात्र होइन, यस क्षेत्रमा सहकार्यको अवसर जुट्ने अमेरिकी दाबी छ । यसलाई चीन एक्ल्याउन वा अन्य दृष्टिले ल्याएको भनेर नबुझ्न उनले आग्रह गरे । ‘यो लोकतान्त्रिक संस्थालाई मजबुत बनाउन र सहकार्य गर्दै अघि बढाउन अमेरिकाले ल्याएको क्षेत्रगत आधार हो’, उनले भने, ‘यसमा अमेरिका एक्लै छैन । यो अवधारणा सहकार्यको एक पाटो हो ।’

उनका अनुसार नेपाललाई मिलेनियम च्यालेन्ज कोअपरेसनमार्फत ५० अर्ब डलर सहयोग पनि इन्डो–प्यासिफिक अवधारणाअन्तर्गत हो । ‘यसबाट पनि इन्डो–प्यासिफिक आर्थिक सहकार्यको एक हिस्सा वा करिडोर हो भन्ने पुष्टि हुन्छ’, राजदूत बेरीले भने, ‘एमसीसीमा नेपाल भाग्यमानी भएर ठूलो परियोजना पाएको हो । अन्य मुलुकमा साना परियोजना गएका छन् ।’

चिनियाँ लगानी पारदर्शी हुनुपर्ने

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत हुने लगानी पारदर्शी होस् भन्ने चाहना रहेको अमेरिकाले जनाएको छ । ‘चीनले नेपालमा गर्ने लगानी नेपालको हितमा हुनुपर्ने मात्र होइन, यसको पारदर्शिता रहोस् भनेर हामीले सार्वभौम मुलुकलाई धारणा राख्ने हो’, फेल्टरले भने, ‘धेरै देशमा चिनियाँ लगानीले फाइदा गरेको छैन । नजिकैको        श्रीलंकाको हम्मनटोट्टा स्मरण गर्नुस्, टाढाको अफ्रिका पुग्नै पर्दैन ।’        श्रीलंका र माल्दिभ्स चिनियाँ लगानीका कारण ‘डेट ट्र्याप’मा परेको उनले सुनाए । ‘मलेसियालगायत केही देशले परियोजना रद्द गरिरहेका छन्’, उनले भने, ‘नेपालमा पनि चीनले गर्ने लगानी पारदर्शी भए राम्रो हुने हाम्रो सुझाव हो । नेपालको हितमा चिनियाँ लगानी होस् ।’ चीनसँग नेपालको सम्बन्ध राम्रो रहोस् भन्ने चाहनाअनुसार सुझाव दिएको उनले सुनाए । चीनलाई उसका नीतिहरूमा परिवर्तन गर्न बाँकी विश्वले सहयोग गर्नुपर्ने देखिएको उनले सुनाए ।

उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापति र अन्य उच्च अधिकारीसँग भेट मात्र गरेनन् पत्रकारसामु आफ्ना धारणा राखे । यस क्रममा उनले भने, ‘सम्बन्धमा उतारचढाव आउँछ । तर, त्यो व्यवस्थापन हुँदै जान्छ ।’

राजदूत बेरीले कार्यक्रमहरूमा अमेरिकी सैनिक अधिकारी सहभागी हुनु सामान्य भएको बताए । यसमा अन्य कुनै सन्देश नभएको उनले स्पष्ट पारे । ‘हामी लोकतन्त्रमा विश्वास गर्छौं । मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान पनि गर्छौं । त्यसैले जे हुन्छ खुला रूपमा हुन्छ’, उनले भने, ‘हाम्रो दूतावासमा १ सय १० जना हामी अमेरिकी कार्यरत छौं । सबै स्थानमा म पुग्न पाउँदिनँ । त्यसैले हामी बाँडिन्छौं । अन्यथा केही होइन ।’

Back to top button